Blog Archive

About Me

My photo
Boulder , Colorado, United States
Which question is valid? God created human being or Human being created god?.

Thursday, January 18, 2024

गिती कथा : बरगैयापुर डायरी चण्डिगढमा रहेको जाकिर हुसैन रोज गार्डेनमा राताम्मे भएर फुलेका गुलमोहरका पङ्ति बद्ध रुखहरु आफ्ना हरिया पातहरुले झन शोभायमान देखिन्थे । ती मध्ये एउटा गुलमोहरको रूख मुनि छायामा म बसि रहेको थिएँ । बैगलोरमा यूनिभर्सिटि पढ्ने नेपाली विद्यार्थीहरु यहाँको रोज गार्डेन अवलोकन गर्न भर्खरै आएका रहेछन् । कोहि चिनेका पनि छन कि भनेर म पनि बिद्यार्थीहरुको भिड तिर लागें । त्यहाँ मैले चिनेका कोहि थिएनन् तर चिन्न बाँकि रहेका र नचिनेको खण्डमा पछिसम्म पछुतो लाग्ने मानिस धेरै रहेछन् । म २-३ बर्षदेखि चण्डिगढमा रहेको हुनाले रैथाने जस्तै भइ सकेको थिएँ । कुरै कुरामा म उनीहरु माझ सहजै घुलमिल भएर उनीहरुको ”अवैतनिक लोकल गाइड” हुन पुगेको थिएँ । त्यो समूहमा नीला पनि रहिछ । ऊ निकै फरासिली थिइ । त्यो गार्डेनमा म धेरै चोटि पुगेको छु । त्यहाँका बनस्पतिहरु र थरि थरिका गुलाब हेर्दा हेर्दा म थाकि सकेको थिएँ तर आज किन किन हरेक गुलाफहरु गाढा र चम्किला हुदै चित्ताकर्षक भएको देख्न थालेको छु । गार्डेनको छेउमा रहेको पर्सियावाट ल्याइएको नीलो गुलाब अरु भन्दा अलग र निकै मनमोहक देखिएको थियो । हामी दुबैको आँखा त्यहि गुलाफमा एकै चोटी परेछ । “आहा !कस्तो राम्रो गुलाब!” उसले उतावाट र मैले यतावाट त्यो नीलो गुलाबको बारेमा एकै चोटी एउटै प्रतिकृया जनायोैं । त्यसपछि हामीले एक अर्कालाई हेरेउँ । हामी दुवैलाई केहि अप्ठेरो लागेको हुन सक्छ । हामी केहि लजायोैं । गीत : तिमी यसै लजायौ, म उसै धकाएँ न बोल्यौ तिमी नै, न मैले बोलाएँ कति स्वप्न आए, परेलीमा बस्न न सोध्यौ तिमीले, न मैले सुनाएँ……….. के त्यो नीलो रङ्गको गुलाब प्रतिको हाम्रो समान दृष्टि र त्यस उपरको समान प्रतिकृया केबल एउटा संयोग मात्र थियो ? के त्यो गुलाफ देखि सके पछि उसको अनुहारमा हेर्दा देखिएका उसका आँखाका नीला रङ्गहरु, त्यहि बेला सन्सारलाई ढपक्कै ढाकेको हामी माथिको निलो आकासको रङ्ग, सामुन्नेको तलाउको पानीको नीलो रङ्ग पनि केवल एउटा गलत आभास मात्र थियो? अबश्य थिएन । यसैले त त्यो नीलो रङ्ग मेरो मन भरि र तन भरि रङ्गिकरण हुँदै मेरो मन मष्तिस्क सहित मेरो सारा हुलिया नै बदलियो । बेलुका नयाँ साथीहरुसंग परिचय समेत भयो, भर्खरै उत्तर भारतका एकजना गुप्ताजीले यहाँ रेस्टुरा खोलेका थिए । मैले यहि रेस्टुरामा सबैलाई लिएर गएँ । बेलुका निकै रमाईलो भयो । मैले मेरा नयाँसाथीहरुवाट बैङ्गलोर आउने निम्तो पनि पाएँ । नीलालाई गुप्ताजीको पसलको खुर्मा निकै मन पर्यो । मैले उसलाई एक किलो कुर्मा किनेर संझना स्वरुप दिएको थिएँ । म बडा अप्ठेरो मान्दै सबै साथीहरु र नीलासंग पनि छुट्टिएर होस्टल फर्किएँ । त्यो रात म सुतिन वा निदाउन सकिन । हो, एकै दिनमा निला र मेरो सामान्य परिचय भएको थियो । भारतमा रहुन्जेल हाम्रो फोनमा निकै बेर कुरा कानी हुन्थ्यो । चिट्ठि पत्र पनि लेख्थेउँ । एक दुइ दिनको अन्तरालमा पनि एक अर्कासंग कुरा नगर्दा केहि हराएर खोजी रहे जस्तो वा जिवनमा केहि अपुग रहेको आभास हुन लागेको थियो ।मलाई थाह थिएन ऊ मसंग कति नजिक थिइ तर म भने उसको संझनामा सिकिस्त भइ सकेको थिएँ । उसले दशैंमा नेपाल फर्किने बित्तिकै भेट्न अनुरोध गर्दै चिठि पठाएकी थिइ । हो, हामीले चिठिवाट नै नेपाल फर्किएर भेट्ने बाचा पनि गरेका थिएउँ । त्यसपछि पनि उसले मेरो बारेमा धेरै कुरा सोधेर चिट्ठि पठाउने गरेकि थिइ । गीत : तिम्रो हर प्रश्नको जवाफ मेरो चिठिहरुमा खोज्नु । यदि चित्त बुझ्दैन भने मेरो सामु आएर सोध्नु । मेरो रिसर्च पेपर बाँकि नै थियो तर उसको पढाई सकियो । ऊ केहि पहिले नै नेपाल फर्किई । ऊ नेपाल गए पछि नै ऊ संग केहि कुरा त भएको थियो । एउटा चिट्ठि पनि आएको थियो तर बिस्तारै उसको स्वरमा निकै परिवर्तन भएको जस्तो लाग्न थाल्यो । विस्तारै उतावाट फोन आउन छोड्यो र मैले गरेको फोन उठाउन पनि छाडियो र कुराकानी प्राय: बन्द जस्तै भए । म दसैंमा नेपाल फर्किएँ । गीत : बिछोडको पीडा नसकी खप्न दसैको बेलामा, तिमीलाई भेट्न आउदै छु फर्कि रमाईलो गाउँमा । मनमा केहि शंका त अबश्य थियो तर त्यो शंका भन्दा बढि मलाई नीला उपर विश्वास पनि थियो । यसैले सशंकित भए पनि ऊसंग भेट हुने आशामा म निकै रमाएको थिएँ । नेपाल फर्किएकै दिन बेलुका नै म उसले बताएको घरमा उसलाई भेट्न गएँ । उनका बाबुसंग भेट पनि भयो , कुरा पनि भयो । जब उसको भर्खरै अन्तै बिहे भएको सुन्न पुगें, म छाँगो बाट खसे जस्तो भएँ । तर भरिसक्य आफ्नो हाउभाउमा कुनै परिबर्तन आउन नदिदै म मुस्कुराए झैं उसको गल्लीको घर छाडेर सडकमा निस्किएं । गीत : अति कमजोर रहेछ रहर, तिम्रो सिउँदो कोर्न सकिन । समयले मेरो छातीको घाउलाई टोलाएर हेरेर बसेन, ऊ चलि रह्यो एकनाशले, एउटै गतिले । म भने गतिहिन भएको थिएँ । यसै दोैरानमा मैले धेरै जागीरहरु पनि खाएँ । तर कतै लामो समयसम्म टिकिन । म चिडचिडे स्वभावको भएको थिएँ । यसरि ७-८ बर्ष बित्यो तर ममा कुनै सकारात्मक परिवर्तन आएन । एक दिन मेरा एक जना साथीले मलाई कर गरेर मनोचिकित्सककोमा देखाउन लगेका थिए । चिकित्सकले मलाई “एडजस्टमेण्ट दिस्अर्डर भएको र यसकालागि मैले अहिले बसेको ठाउँ छाडेर मन परेको कुनै ठाउँमा गएर अन्तै बस्नु पर्ने सुजाव दिनु भयो । यसैले म यो तराईको गाउँमा मास्टर बनेर बस्न आएको थिएँ । तराईको चैत महिनाको त्यो शनिवारको मध्य दिन एकदम् बैराग लाग्दो थियो । बाहिर टण्टलापुर घाम लागे पनि बेला बेलामा धुलो उडेर बतासे हुण्डरि चल्दै रोकिदै गरि रहेको थियो । कहिले काहि धुले सडकमा चल्ने यस्ता बतासले स-साना भुमरी बनाउदथ्यो । ती भूमरिले प्लाष्टिक वा कागजका टुक्राहरु अनि पराल र सुकेका घॉसहरू र पात पतिङ्गरहरुलाई घुमाउदै अकास तिर उडाएर माथि लगेर अन्तै कतै झारि दिन्थे । मेरो मन पनि आजकल खै केको भुमरीमा पर्न थालेको हो, आकास पातालका कुराहरूमा सुरूली खेल्दै अन्तै कतै उडि रहन्छ! यदि मन लगाएर हेर्ने हो र सोच्ने हो भने, संसारका हरेक उराठलाग्दा दृष्यहरुमा पनि रमाईलोको सानो तिनो रातिगेडि छिपेको भेटिदो रहेछ ! म यस्तै उराठलाग्दा दृष्यहरु भित्र केहि मन अल्झिने कुरा छन् कि भनेर एकोहोरो टोलाएर खोजी रहेको थिएँ । कहिले केहि पाए जस्तो लागेर रमाउने निरर्थक प्रयास गर्दथैं भने कहिले केहि नपाएर त्यसै दिक्क मानि रहेको थिएँ । मैले भर्खरै सितामाढिवाट किनेर ल्याएको “सन्तोष रेडियो” मा ब्याट्री सकिएर घ्यार् घ्यार् आवाज आइ बिच बिचमा रोकिन गए पनि “ जति माया लाए पनि जति कसम खाए पनि “ भन्ने गीत बजि रहेको थियो । यो गीतले मेरो अतीतको जिन्दगीको मझेरी खुर्कि रहेको थियो! यसैले यो गीत सुनि रहें! गीत : जती माया लाए पनि जती कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा आँखा तरी गए पछी मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो बरगैयापुरमा शनीबार र बुधबार हाट लाग्ने गर्दथ्यो । वास्तबमा यहाँ हाट बजारको दिन एउटा उत्सव वा मेला जस्तो नै हुन्थ्यो । धेरै जसो गाउँका मानिसहरु कोहि बजारमा आउने नौटंकी नाच-तमासा हेरेर दिन कटाउन वा दैनिक आवश्यकताका सामान किन्नका लागि हाट भर्न त्यता तिर जाने गर्दथे । मेरो डेरा सामुन्नेको पोखरिमा मलाहाहरुले आजैको हाटमा बेच्नकालागि पोखरिको माझमा गाडिएको मोटो जाटदेखिनै महाजाल हालेर सोहोर्दै ल्याएर माछा मारेर लगि सकेको हुनाले पोखरि केहि सफा र शान्त देखिएको थियो । उता सधै चहल पहल हुने पोखरिको डिलैमा रहेको पिपल चौतारो भने आज शुन्य थियो । त्यहॉ फाट्ट फुट्ट देखिएका केहि केटाकेटीहरु कोहि नजिकैको बगानवाट चिचिला आँप ल्याएर ढुङ्गाले फोर्दै जिब्रो पड्काएर खाइ रहेका थिए । कोहि बाघचाल खेली रहेका थिए भने कोहि “लेङ्गड खुट्टि” मा रमाई रहेका थिए । मलाई पनि हाट तिर जान त मन थियो तर हिजो बेलुकादेखि नै अलि अलि सञ्चो नहोला जस्तो हुँदै गएर आधारातसम्ममा त निकै हनहनि ज्वरो आएकोले आज म घरै बसेको थिएं । मेरो यो रेडियो नयाँ ब्याट्री हुँदा त निकै जोडले घन्किन्थ्यो तर घन्किनु भन्नु के थियो र !, ब्याट्रिलाई पठानले रुह अब्जा सर्बत पिए भन्दा जोडले बुत्याउँथ्यो । बरु पठानले त्यो सर्बत नसर्काई एकै सासमा पिउँथ्यो होला तर मेरो रेडियोले नराम्ररी छाति घ्यार् घ्यार् हुने गरि ब्याट्रि सर्काउँन थाले पछि म बुझि हाल्थें कि मेरो रेडियोमा ब्याट्रि सकिन लागेछ भनेर । त्यो रेडियोमा “ब्याट्रि रखनेका जगह” छुट्टै हुदैन थियो । यसैले ब्याट्रि फेर्न पछाडि पट्टिको कुटको पुरै फप्ल्याँटो पेचकसले उदिनेर फुकाल्नु पर्थ्यो । नयाँ ठाउँमा पेचकस कसरि भेट्ने ? घरपेटीसंग सोध खोज गरेको भए हुन्थ्यो होला तर उनी पनि बजार गएछन् । यत्तिकैमा हाम्रो कुर्वान भाई जर्किनमा मट्टितेल बोकेर सडकमा हिडि रहेको देखें । वासुकिनाथजीको “ खुद्धार नास्ता घर” मा म मासिक पैसा तिरेर खाना नास्ता खाने गर्दथें । पसलमा एक जना फुर्तिलो भाई काम गर्दथ्यो । उसको नाम ललन थियो । तर गाउँमा उसलाई ललन भनेर कसैले चिन्दैन थियो । यहि ललनलाई हामी कुर्वान भाई भन्दथ्योैं । ललनको नाम कसरि कुर्वान रह्यो भन्ने पनि रमाईलो घट्ना भएकोले यहॉ बताउन चाहान्छु । म भर्खरै बरगैयापुरमा पुगेकै केहि दिनमा म चिया पिउदै गर्दा ललनले रेडियोमा कुनै गीत कसरी फर्माईस गर्ने र फरमाइस गरेर पठाएमा रेडियोले उसको पनि नाम भनि दिन्छ र ? भनेर मलाई सोधेको थियो । मैले तत्काल उसको नाम राखेर हुलाकवाट चिठि पठाएको करिब एक महिना पछि एक दिन फर्माइसि गीत कार्यक्रममा उसको पनि नाम आएछ । बरगैयापुरवाट सर्वप्रथम कसैको नाम रेडियोमा आएको थियो भने त्यो ललन कै थियो । ऊ त टोल टोलमा फेमस भइ हाल्यो । त्यसबेला फर्माइसी गीतको कार्यक्रममा बिरगञ्ज गहवाका “ कुर्बान हवारी, बेगम ताजमा हबारी, रहमान, फरमान र वहाँका साथीहरु” को नाम हरेक जसो कार्यक्रममा बज्दथ्यो । यता अब ललनको नाम पनि एक चोटि भए नि रडियोमा आएको हुनाले गाउँमा सबैले उसलाई बर्गैया पुरको “ कुर्बान भाई “ भनेर बोलाउन थालेका थिए । हो म भन्दै थिएँ - मैले झ्यालवाट ललन उर्फ क़ुर्बान् भाईलाई देखें! र सोधें, “ ए कुर्वान भाई ! तिमीसंग पेच कस् छ ?” । यति सुन्ने बित्तिकै नजिकको काठको फाटक नाघेर ऊ मेरो झ्यालैमा आयो र भन्यो- “प्रणाम सर् ! के भन्नु भएको मैले बुझिन “ “तिमीसंग पेच कस छ ? “ मैले सोधें । “ किन चाहियो, माड्साब्? “ उसले सोध्यो । “ यो रेडियोको ब्याट्री झिकेर सुकाउनु पर्ने भएको थियो, त्यसैले । “ मैले भने । “ ए पेच खोल्नु पर्यो ? तब त पेच कस किन चाहियो ? पेच खोल पो चाहियो हैन र, सर ? “ उसले मेरो भाषा सम्पादन गर्न खोज्यो । “ हाँ हाँ वहि, तिमीसंग म बहस गर्न सक्दिन । छिटो खोजेर ल्या न ! “ मैले उसलाई हेपेर होला, मैले आफ्नो गल्ति स्वीकार गरिन । कुर्वान भाइले पनि धेरै तिर छापा मार्दा पनि “पेच खोल” कतै भेटेनछ । उसले नङ् कट् ( नेल कटर) को एक छेउको सुइरो जस्तो तीखो भागलाई उपयोग गरेर बडा मुश्किलले रेडियोको पछाडिको कुटको फप्ल्याँटो बल्ल बल्ल फुकालि दियो । एभ्रिएडि ब्याट्री त भिजेको बिरालो जसरी गीलो र लत्याक्लुतुक् परि पो सकेछ ! ती ब्याट्रीहरु बडा हिफाजतले निकालेर बरण्डामा लस्करै सुकाएँ । आजकलका आला काँचा तरुना तरुनीहरुले २ मिनेट फोन नभेट्दा घोर एन्जाइटीमा परे जस्तै म पनि ब्याट्रि नभएको रेडियो देखेर निकै निस्तिएको थिएँ । बरु रेडियोमा ब्याट्री हुँदाखेरि बन्द गरेर राख्दा पनि चाहिएको बेला जुनसुकै बखत खोल्न सकि हालिन्छ भनेर ढुक्क लाग्दथ्यो तर ब्याट्री नै छैन भने पछि त मन छटपट पो हुँदो रहेछ ! म खाटमा गएर यसो पल्टेको मात्र थिएँ, राजमार्ग तिरवाट मोटरगाडि आएको जस्तो आवाज सुनियो । यो गाउँमा मोटरगाडि किन आउथ्यो र ? शायद कुनै अपराधको घटना घटेर सर्जमिन गर्न सरकारी हाकिमहरु आएका होलान् । मैले यस्तै सोचें । राति ज्वरो आएर होला राम्रो निदाएको थिइन । यसो ढल्किने बित्तिकै आँखा लागि हालेछ । अर्ध निन्द्रामा ढोका बाहिरवाट कसैले ढ्वाक ढ्वाक गरेको जस्तो आवाज सुनें । मैले ढोकामा चुकुल लगाएको थिइन तैपनि आगन्तुकले ह्वात्तै ढोका खोल्न चाहेन वा भित्र पसि हाल्न चाहेन यसैले ढ्वाक्क ढ्वाक्क मात्र गरि रहे जस्तो लाग्यो । यो पराया स्थानमा मेरो डेरामा मलाई खोज्न को आएको होला र ? ढोकाका पल्लाहरु यसै हावाले हल्लाएका होलान् । आऽऽऽ बेकारमा के छट्पटिनु? मेरो कोठा ढक्ढक्याएको होइन होला, बरू घरपेटीको चिठि लिएर उनैको ढोकामा हुलाकि आएर उतै ठोका डक्ढकाएको पो होला ! अर्ध चेत मनमा यस्तै सोच मनमा आइ रह्यो । म खाटमा ढल्कि रहें । मलाई जगजीत सिंहले गाएको यो गजल याद आयो । गीत: कौन आएगा यहाँ, कोई ना आया होगा, मेरा दरवाज़ा हवाओं ने हिलाया होगा !! दिल-ए-नादाँ, ना धड़क, ऐ दिल-ए-नादाँ, ना धड़क , कोई ख़त ले के पड़ोसी के घर आया होगा !! तर त्यो ढक्ढकाहट केहि समयको अन्तरालमा मेरै ढोकामा लागातार आई रहेकोले मैले बिस्तारै उठेर ढोका खोलें । एकदमै अपरिचित जोडि बरण्डामा उभिएको देखें । साथमा ६-७ बर्षकी छोरी पनि थिइन् । उनीहरुले मलाई नमस्कार गरे । मैले पनि उनीहरुलाई झट्ट भित्र नबोलाइकन अक्मकिदै नमस्कार फर्काएँ । म एक्लो मानिस बसेको कोठा त्यति सफा पनि थिएन । साँच्चै भन्नु पर्दा मेरो कोठामा उनीहरुलाई बस्न दिने अलग्गै २ वटा कुर्सिहरु समेत थिएन । तर उनीहरु मैलाई भेट्न आएका हुनाले बाहिर बाटै बिदा हुने संभावना थिएन यसैले मन नमानि नमानि उनीहरुलाई मैले भित्र बोलाएँ । वहाँहरु खाटको एका तिर भस्नु भयो । सानी नानी यता उति हेर्न थालि । एक्लो मास्टरको कोठामा बच्चाको मन लोभ्याउने कुरा नै के हुन्थ्यो र ? मैले कापि र पेन्सिल दिएर चित्र बनाउन लगाएँ । उसले पनि खै के के बनाउन थाली । आफ्नो किताबको “ पानी पर पानी पर आकाशकी रानी “ भन्ने कविता हरफ मिलाएर सफा अक्षरमा लेखेको देखेर म प्रभावित भएं । “ ओ हो, तिम्रा त कति राम्रा अक्षर रहेछन् ! तिमीलाई यस्तो राम्रो लेख्न कसले सिकायो ?” मैले सोधें । “ मामुले ! मेरो मामुको अक्षर मेरो भन्दा राम्रो छ “ उसले भनि । “ ल यस्तै राम्रो लेख्दै गर्नु है” , भन्दै मेले नानीसंग कुरा टुङ्ग्याएँ । ती आगन्तुकहरु मलाई भेट्न आउनुको कारण बताउन थाल्नु भयो । वहाँहरु एउटा गैर सरकारी संस्थामा काम गर्नु हुँदो रहेछ । खानेपानी र स्वच्छता सम्बन्धमा स्थानीय बासिन्दाहरुसंग केहि वार्तालाप गरेर आँकडा लिन आउनु भएको रहेछ । यो कामकालागि गाउँका प्रधानपञ्चलाई भेट्दा वहाँले स्थानीय श्रोत ब्यक्तिको रुपमा मलाई सिफारिस गरिदिनु भएकोले वहाँहरु मेरो सहयोगको लागि भेट्न आउनु भएको रहेछ । मैले सकेको सहयोग गर्ने बचन दिएँ । यत्तिकैमा ती सानी नानी म तिर हेरेर मलाई देखाउँदै बेस्सरि हाँसिन् । हामी सबैको ध्यान उनी तिर गयो । मैले, “ के भयो नानु , किन हाँसेको? “ भनें । “ अंकलले किन पेटिकोट लगाएको ? मेरो मामुले भनेको पेटिकोट लाएर बस्नु हुदैन रे ! लाज हुन्छ रे ! हजुरलाई लाज लाग्दैन ? “ ती अबोध बालिकाले मैले लगाएको लुङ्गीलाई पेटिकोट जस्तो संझेर भनीन् । “ हामी बेजोडले हाँसेउँ । तर शायद मेरो अनुहार केहि रातो भएको हुनुपर्छ मलाई यस्तो बेला कान तातो हुने गर्छ । माधबजीले ती बच्चीलाई हतार हतार “त्यसो भन्नु हुदैन । अंकलले लगाएको त लुङ्गी पो हो त। हेर त कति राम्रो छ । भोली देखि ठुलो पापा पनि यस्तै लगाउँछु ।” भन्नु भयो । अनि म तिर हेरेर बच्चाको कुरालाई मनमा नलिन आग्रह गर्नु भयो । मैले यो कुनै ठूलो कुरा नभएको भनेर सहज रुपमा लिएँ । तर ती बच्ची र माधबजीको भनाईवाट के बुझियो भने ती बच्चिका बाबु-आमा माधबजी र जरिना मेडम होइन रहेछन् । बरगैयापुरको हाम्रो गाउँ भरि होटेल वा लजहरू थिएनन्। गाउंकै एउटा घरमा वहाँहरुलाई सात दिन बस्ने प्रबन्ध गरियो । यस बिच गाउँ भरिका प्राय: सबै घर घर गएर खाने पानी र स्वच्छताको प्रचार पनि गरियो र केहि अन्तर्वार्ता पनि लिइयो । म सधै जसो बेलुका वहाँहरुको डेरामा गफ गर्न जान्थे । यसै बीचमा केहि आफ्ना कुरा भनियो । केहि वहाँहरुका कुरा सुनियो । म चण्डिगढ युनिभर्सिटिवाट मास्टर दिग्री गरेर आएको भए पनि यस्तो देहातमा सामान्य मास्टर भएर बसेकोमा वहाँहरु छक्क पर्नु भयो । मैले आफुलाई “एड्जस्टमेण्ट डिस्अर्डर” भन्ने मानसिक रोग लागेको हुनाले आफु रहे बसेको भन्दा फरक ठाउँमा केहि दिन बसेमा ठिक हुन सक्ने भनि मनोचिकित्सकहरुले सल्लाह दिएका हुनाले काठमाण्डुवाट उपचारको सिलसिलामा यहाँ हाईस्कुलमा मास्टर बनेर बसेको भनेर बताए पछि वहाँहरुले म प्रति निकै सहानुभुति पुर्ण ब्यबहार गर्न थाल्नु भएको थियो। वहाँहरुले मेरो यस्ता नित्तान्त ब्यक्तिगत कुरा सुने पछि आफ्ना कुराहरु पनि सुनाउनु भयो । आज भन्दा ७-८ बर्ष अघि बैगलोरवाट पढेर आएकी जरिना मेडमकी बहिनीको काठमाण्डोैका एकजना निकै उम्दा घरानीयाँ केटासंग उनका बाबु आमाले निकै कर गरेर बिहे गरि दिएका रहेछन् । बहिनीले त मानेकी थिइनन् रे तर राम्रो बन्दबस्त भएको केटासंग बिहा गर्नै पर्ने भनि परिवारले जोड गरेर उनको बिहे गरि दिएको थियो रे । शुरुका दिनहरुदेखि नै उनीहरुको संबन्ध त्यति राम्रो भएन छ । यो नानी जन्मे पछि पनि झन झन संबन्ध बिग्रिएको रहेछ । माधबजीका आफ्ना बाल बच्चा रहेन छन् र यी नानीलाई छोरी जस्तै हेर बिचार गर्नु हुँदो रहेछ ।आजकल नीला केहि नयाँ विषय पढ्न देश बाहिर गएकी रहिछिन् । २-४ दिनमा नै पढाई सकाएर उनी फर्कि आउने कार्यक्रम रहेछ । यो कुरा सुनेर मलाई ती नानीका बाबु आमा को होलान् भनेर लागि रहेको शंका दुर त भयो तर साथ साथै निकै पुरानो घाउ पनि बल्झियो । मेरो हृदयमा शान्त भइ सकेको तलाउमा कसैले ठुङ्गा हानेको थियो । गीत: ठहरि हुए पानीमे कंकर ना मार साबरी मनमे हलचल सी मच जाएगी बावरी म त्यो दिन वहाँहरुले केहि बेर बस्न कर गर्दा गर्दै पनि छिटै निस्किएर डेरामा आएं । बिच्छाैनामा लुगै नफेरि पल्टिएँ । रेडियो बजाउन पनि मन लागेन । उसको बिबाह भइ सके पछि पनि एक पटक उसलाई दिन भनेर मैले अन्तीम चिठि लेखेको थिएँ तर मैले हुलाकमा खसाइ हाल्न नसकेर साथै राखेको थिएँ । फेरि झिकेर केहि अंश पढ्न थालें- “ एक्कासी अचेल फेरि मेरो मष्तिस्कमा तिम्रो संझना संघन हुन थालेको छ। आजकल एकान्तमा त बस्नै नहुने पो भइ सक्यो । यी अनुशासन हिन आँशुहरु बिथ्थाममै अबिरल झर्ने गर्छन । अर्थ छदै छैन भन्ने जान्दा जान्दै पनि तिम्रा संझनामा झर्ने यी आँशुहरु तिम्रै नाममा झरेका कारणले थप मुल्यबान प्रतीत भएका छन । यसैले यी आँशुहरुलाई समेत बडाे जतनले पुछ्ने गरेको छु । पानि झै हातमा खरमट्ट सुकि हाले पनि ओैंलामा बसेको आँशुको आद्रता दिनभरि महशुस भइरहन्छ। खै किन हो? आजकल रातभरी झपक्कै आँखा लाग्दैनन् । यी अनिदा रातहरुमा मैले सुकसुकाउदै कल्पिएका बिलाैना भरिएको मेरा कथाहरुमा खाेज्दै जाँदा मूख्य पात्र मात्र हाेइन कि खल पात्र समेत तिमी नै हुने गर्दछाै । म कल्पनामै तिमीलाई एक्कासि झम्टन्छु, अनि आसुरी चित्कार सहित तिमीलाई चिथाेर्न थाल्छु । किन तिमी बोल्दैनाै? किन आत्म रक्षा गर्दैनाै ? म तिम्रो प्रतिक्रिया बिहिन घाइते स्वरुप देखेर भक्कानिदै तिमीलाई फेरि छाँद हाल्न पुग्दछु । तत्कालै तिम्रा घाउमा म मल्हम पट्टी बाँध्न थाल्दछु तर त्यहि बेला झल्याँस्स हुन्छु ! अब त्यहाँ कोहि हुदैन, तिमी हुदैनाै, तिम्राे घाउ हुदैन, मल्हम पनि हुदैन तर हुन्छ त केवल मेरो सुँक सुकाहट, मेरो दीर्घ बेदना अनि उच्चाट लाग्दो पारिवेश र म !” गीत: एक्लै बस्दा सधै मलाई संझना तिम्रो आई दिन्छ सहन नसकि आँखावाट आँशु त्यसै झरि दिन्छ । भोली पल्ट म वहाँहरुलाई बिदाई गर्न बिहानै पुगेको थिएँ । बरगैयापुरका केहि मिठाईहरु र मसलाहरु मैले उपहार दिएँ । सानी नानीलाई केहि चकलेटहरु किनिदिएँ । “ तिम्रो मामुलाई दिनु है भनेर एक किलो खुर्मा किनेर बडो जतनले प्याक गरेर दिएँ । केहि दिनको भेटघाटले नजिकिन पुगेका हामी छुट्टिने बेलामा निकै भावुक भयोैं । वहाँहरुको जीप हाम्रो देहाती वाटोमा धुलो उडाउँदै अघि बढ्यो । बरगैयापुरवाट माधबजी र जरिना मेडम बिदा भएर गएको २०-२५ दिन पछि कुर्वान भाईले दोैडदै आएर मलाई एउटा चिठि दियो । सो चिठि सानी नानीको अक्षरमा लेखिएको थियो । अरु ओैपचारिक कुराहरुको अतिरिक्त यो लेखिएको थियो कि - “अंकल नमस्कार ! हजुरले पठाएको खुर्मा मामुलाई धेरै मन पर्यो रे !”

No comments: